
काठमाडौं । संसद् विघटन विरुद्धका रिटमाथि सुनुवाईका लागि आज संवैधानिक इजलास बस्दैछ । दुई दिन स्थगित भएको सुनुवाई आज फेरि बस्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो ।
आजको इजलासको शुरुमै सरकारी पक्षका वकिलले प्रश्न उठाएका न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिनेछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारेको रायपछि सुनुवाई सुरु हुनेछ ।
यसअघि जेठ १८ को संवैधानिक इजलासमा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको दाबी गरेका छन् । सरकारी पक्षका वकिलले ११ जना न्यायाधीशविरुद्ध उजुरी समेत दर्ता गरेका थिए ।
जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासमा बस्न नहुने भन्नेबारे बहस भएको थियो । महान्यायाधिवक्ता रमेश बडालसहितका सरकार पक्षका कानुन व्यवसायीले उनीहरु हट्नुपर्ने तर्क गरेका थिए ।
रिट निवेदक पक्षका कानुन व्यवसायीले भने बरिष्ठताका आधारमा इजलास गठन भएको हुनाले कार्की र भट्टराईले मुद्दा हेर्न मिल्ने जिकिर गरेका थिए । दुबै पक्षका दाबी जे भएपनि न्यायाधीशको राय नै अन्तिम हुनेछ ।
जेठ १८ मा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विघटनको मुद्दा हेर्दा ‘स्वार्थ नबाझिने’ राय दिएपछि भट्टराई र कार्कीले इजलास छाड्ने घोषणा गरेका थिए । रिट, निवेदकका तर्फका कानुन व्यवसायीले (नेकपा) विभाजन गर्ने मुद्दा फैसलामा गरेको हुनाले विघटनको मुद्दामा केसी र श्रेष्ठको सार्थक सरोकार रहेको दाबी गरेका थिए ।
इजलास गठनबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । तर, बरिष्ठताका आधारमा गठन गरिएको इजलासबारे पनि सरकारी पक्षले असन्तुष्टि जनाएपछि सर्वोच्च अदालत थप विवादमा रुमलिएको छ ।