
काठमाडौं । आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गर्न लागिएको छ । चीन सरकारले अनुदानमा दिएको खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन थालिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवोर कल्याण महाशाखा, खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार खोपको उपलब्धताका आधारमा खोप दिन लागिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको गौतमले बताए ।
हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ । हिमाली क्षेत्रमा पटक–पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाइने गौतमले जानकारी दिए । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जान समेत आग्रह गौतमले आग्रह गरे ।
पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई अनुदानमा १८ लाख डोज खोप दिएको छ ।
यसअघि चीन र भारतले अनुदानमा दिएको र खरिद गरेको खोप लगाइएको थियो । जेष्ठ नागरिकलाई पहिलो खोप लगाइएको थियो भने दोस्रो चरणको खोप दिन सकिएको छैन । भारतबाट खोप नआएकोले दोस्रो चरणको डोज दिन नसकिएको सरकारले बताउँदै आएको छ ।