
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । काँग्रेसको सिफारिसमा दुई मन्त्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले शनिबार नेपाली काँग्रेसबाट सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरेका छन् ।
नेपाली कांग्रेस दलको बैठकले बीसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । प्रदेश प्रदेश प्रमुखको कार्यालयले पनि शुक्रबार साँझै मन्त्री नियुक्त भएको जानकारी गराएको हो ।
कांग्रेसबाट सरकारमा सहभागी भएका दुईजना मन्त्रीलाई आजै सपथ खुवाउने तयारी गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।
नेकपा (एमाले)को ओली समूहले राखेको अविश्वास प्रस्तावको क्रममा नेपाली काँग्रेसले सरकारलाई समर्थन गरेको थियो । नेपाली समूहका ३ जना सांसदहरुले फुलोर क्रस गरेपछि मुख्यमन्त्री शाहीले विश्वास मत पाएका थिए ।
बैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएपनि आन्तरिक विवादका कारण काँग्रेसले मन्त्री छनोट गर्न सकेको थिएन । लामो छलफलपछि शुक्रबार साँझमात्रै कांग्रेसले १३ बुँदे आचारसंहितासहित दुईजनालाई सरकारमा पठाउने निर्णय गरेको हो ।
दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्री मण्डल ८ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्रीसहित ३ जना माओवादी केन्द्रका रहेका छन् भने एमाले माधव समूहका ३ जना र कांग्रेसका २ जना रहेका छन् ।