
काठमाडौँ । नेपालमा केही दिनदेखि संक्रमितभन्दा कोरोना जित्नेको संख्या बढिरहेकोमा आज फेरि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज ५ हजा ९०४ जनाले कोरोना भाइरस संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएका छन् ।
मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ । परीक्षण दायरा हेर्दा संक्रमणदर घटेको नै छ ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत ७५ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको एक महिना पूरा भइसक्दा पनि काठमाडौँ उपत्यकामा संक्रमितको संख्या अपेक्षा गरेअनुसार घटेका छैनन् । आज उपत्यकाका तीनै जिल्लामा गरी थप २ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।