
काठमाडौं । भारतमा बालबालिकाहरुलाई पनि कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ । यो परीक्षणको रुपमा बालबालिकामा खोप दिन थालिएको हो ।
भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको छ । पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने बताइएको छ ।
दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने छ । त्यसको प्रभावकारिताको आधारमा खोप अनुमोदन गरिने छ ।
हालसम्म १८ वर्ष उमेरभन्दा माथिका लाई मात्र कोरोना खोप दिने गरिएको छ ।
यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत भारतका नेताहरुले बालबालिकालाई पनि जतिसक्दो छिटो कोरोना खोप दिलाउनुपर्ने धारणा राख्दै आएका छन् ।
पछिल्ला तथ्यांकहरुमा विश्वभर बालबालिका संक्रमण हुने दर बढ्दै गइरहेको छ । सबैभन्दा बढी भारतमा बालबालिका कोरोनाबाट प्रभावित भइरहेका समाचारबीच कोरोनाविरुद्धको खोप परीक्षण सुरु गरिएको छ । यसले एउटा विश्वास आशा पलाएको छ ।
यसैबीच नेपालमा पनि पछिल्ला दिनमा बालबालिकालाई कोरोना संक्रमण बढ्दै गएको छ ।