
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अनुदान घोषणा गरेको कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप नेपाल ल्याएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । आज त्योमध्येको ८ लाख डोज खोप नेपाल ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकी दुई लाख खोप तिब्बतले दिनेछ । यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ । अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।
चीनले थप अनुदान दिएको खोप कसलाई लगाउने भन्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरिसकेको छैन । प्राथमिकताको आधारमा खोप दिने गरी छिटै निर्णय हुने मन्त्रालायको खोप शाखाले जनाएको छ ।
स्रोतका अनुसार अब अक्सिजन उत्पादन गर्ने उद्योगका कामदार, ग्यास र औषधि उत्पादनसँग जोडिएका कर्मचारी र कामदार अबको प्राथमिकता रहेका छन् ।