आज :

कोरोना संक्रमणबाट विवेकशील साझा पार्टीका नेता उज्वल थापासहित ६८ जनाको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विवेकशील साझा पार्टीका नेता उज्वल थापासहित ६८ जनाको ज्यान गएको छ । ४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा थापाको निधनलाई नजोडिएको बताइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको मंगलबार निधन भएको छ । अन्तिम पटक गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको ज्यान गएको छ । यो संख्या केही दितयताकै कम हो । गत वैशाख २५ गते ५३ जना र २६ गते ८८ जनाको निधन भएको थियो । त्यसपछि वैशाख २७ गते १३९ र २८ गते २२५ जनाको मृत्यु भएको थियो ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृतक संख्या बढेर जेठ ५ गते एकै दिन २४६ जनासम्म पुगेको थियो । त्यसपछि मृतक संख्या घट्दै आएर जेठ १४ गते ९६ जनामा झरेको थियो । मंगलबारसम्म नेपालमा कोरोनाबाट ७ हजार ४५४ जनाको ज्यान गइसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । मंगलबारको संक्रमणदर ३०.१७ प्रतिशत देखिएको छ ।

नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ रहेको छ ।

यो अवधिमा ६ हजार ८९८ जनाले कोरोना जितेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ ।

थापाको निधनपछि परिवारले शोक व्यक्त जारी गरिएको छ ।

हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४ः२५ बजे) हामीबिच रहनु भएन ।
हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।

उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal