
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता भिमसेन घिमिरे ‘विपिन’ को पहल, नेपाल स्वास्थ्य विज्ञान व्यवासायी संघको सहयोग र जिरे खुर्सानी सहकारी संस्था लिमिटेडको सहकार्यमा ललितपुरका कोरोना प्रभावितलाई लक्षित गरी जनसहयोग र जनहातेमालो अभियान सुरु गरिएको छ । कोरोनाबाट प्रभावित बस्तीमा पुगेर विपिन र संघको अध्यक्ष नवराज बस्नेतले स्वास्थ्य सामाग्री वितरण गरेर अभियानको उट्घाटन गरेका छन् ।
अभियानले स्वास्थ्य मापदण्ड पूरा गरी जेठ १० गते गोदावरी नगरपालिका–३ टौखेल ढुङ्गेधारा बस्तीका ५० घरधुरीलाई अत्यावश्यक माक्स, सेनाइटजर, पन्जाहरू वितरण गरेको छ । स्वास्थ्य सामाग्रको अभावमा जोखिमपूर्ण दैनिकी बिताइरहेका २ सय स्थानीयले लाभान्वित भएका छन् ।
अभियानको उद्घाटन गर्दै विपिनले महामारीमा जनतालाई सहयोगमा जुट्न पार्टी महासचिव विप्लवले नेता कार्यकर्तालाई निर्देशन दिएको बताउँदै आफू पनि जनताको सेवामा जुटेको बताए । महामारीको बेला जनतालाई बचाउन छोडेर सरकार र संसदीय राजनीतिक पार्टीका नेताहरु कुर्सीको लागि लडिरहेको बताए । उनले जनताको जीवनभन्दा कुर्सी ठूलो हुन नसक्ने भन्दै सरकारलाई गम्भीर बन्न सुझाव समेत दिए ।
“महामारीको बेला जनताको जीवनभन्दा कुर्सीको लागि लुछाचुडी गर्नु अपराध हो । यो संसदीय व्यवस्थालाई जनताको जीवनसँग कुनै सरोकार नहुने कुरा अहिलेको सत्ताको लागि भइरहेको लडाइँले प्रष्ट भएको छ” विपिनले भने ।
नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघले कोरोना संक्रमण सुरुदेखि विभिन्न क्षेत्र र संस्थामार्फत प्रभावितलाई सहयोग गर्दै आएको छ । संघका अध्यक्ष नवराज बस्नेतले आफूहरुले सक्दो सहयोग गर्दै आएको बताउँदै ललितपुरका प्रभावितलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । अध्यक्ष बस्नेतले मानवीय संकटको बेला आफ्नो संस्था जनसेवा गर्न तयार रहेको बताउँदै जनता आफै पनि सतर्क हुनुपर्ने धारणा राखेका थिए ।
अभियानले स्वास्थ्य समाग्रीसँगै राहत संकलन गरी विपन्न, मजदुर, श्रमिक, सिमान्तकृत समुदाय र किसानहरूलाई वितरण गर्ने जानकारी दिएको छ । अभियानमा नेकपा अन्य युवा नेताहरु पनि जोडिएका छन् । अभियानको नेतृत्वकर्ता विपिनले महामारीको बेला सबैलाई जनताको सेवामा खट्न र आफ्नो अभियानलाई साथ दिन अपील समेत गरेका छन् ।
कोरोनाबाट बढी प्रभावित ललितपुरका गाउँ, काम खोसिएका श्रमिकहरुको सेवामा जुट्ने नेता विपिनले अनलाइन डबलीलाई जानकारी दिए ।