काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तालाको पूरै परिवारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बास्तोलाले मंगलबार सामाजिक संजालमार्फत पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।
बास्तोलाले सबै परिवार संक्रमित हुने अवस्था बनेको भन्दै मे १ तारेकयता सम्पर्कमा आएकालाई सतर्ककता अपनाउन अनुरोध समेत गरेका छन् ।
“पीसीआर परीक्षण गर्दा कोभिड–१९ को पोजेटिभ रिपोर्ट आयो । सबै परिवार संक्रमित हुने अवस्था बन्यो । मे १ देखियता मेरो सम्पर्कमा आउनुभएका सबै नेता कार्यकर्ता र जनसमुदाय मित्रहरुमा विशेष सावधानी अपनाउन अनुरोध छ” बास्तोलाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
यसैबीच नेपालमा थप ८ हजार १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६३५ जना काठमाडौं उपत्यकाका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २३४, प्रदेश २ मा ५१५, बागमती प्रदेशमा ३ हजार ९२१, गण्डकीमा, ६५०, लुम्बिनीमा १ हजार ४२, कर्णालीमा ४५८ र सुदूरपश्चिम प्रदेशमा ३१६ जना संक्रमित थपिएका छन् ।