काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को भेरी–कर्णाली संयोजक हर्कबहादुर बिकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिकामा तीन दिन पहिला संकलन गरिएको स्वाब डडेल्धुरामा गर्दा आइतबार बिकलाई संक्रमण पुष्टि भएको हो ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बिकको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ । “सामान्य लक्षणबाहेक समस्या छैन” बिकले भने । स्वास्थ्यकर्मीको सल्लाहअनुसार केही दिन अब होम आइसोलेसनमा बस्ने उनले बताए । त्यस्तै आजै पञ्चदेवल विनायक नगरपालिकाका अन्य १४ जनालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच आज नेपालमा थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
त्यसैगरी आज थप १४५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको थपसहित ५ हजार १ जनाले ज्यान गुमाएका छन् ।