
काठमाडौँ । नेपालमा कोरोना भाइरस जित्नेको संख्या बढिरहेको छ । केही दिनदेखि संक्रमण दर घट्दै गएको भने निको हुने दर बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएका छन् ।
आइबारसम्म आउँदा निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
कोरोनाको दोस्रो लहरसँगै उच्च बिन्दुमा पुगेको संक्रमण आइतबारसम्म आउँदा निको हुने भन्दा कही बढी मात्रै रहेको । मन्त्रालयका अनुसार आइतबार थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज पनि सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा २ हजार ६०९ जना संक्रमित भएका छन् । जसमा काठमाडौंमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी २ सय भन्दा माथि पुगेको मृत्युदर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १४५ जनाको ज्यान गएको छ । यो केही दिनयताकै कम हो । यसअघि शनिबार १८७ जनाको ज्यान गएको थियो भने २०३ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै, विहीबार २१४ जना संक्रमितले ज्यान गुमाएका थिए । सोही दिन बिहीबार ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको अघिल्लो दिन बुधबार ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ जनाले ज्यान गुमाएका थिए ।
केही दिन पहिलासम्म परीक्षण गरिएको नमूनामध्ये आधाजति संक्रमित भेटिन्थे भने आज त्यो घटेर ३७.४ प्रतिशत पुगेको छ ।
- फाइल फाेटाे