
धनगढी । अछामको मेल्लेख गाउँपालिकाका उपाध्यक्षसहित १९ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । उपाध्यक्ष धनबहादुर शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घबहादुर खड्कासहित १९ जना कर्मचारीलाई कोरोना संक्रमित भएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए ।
अध्यक्ष बोहराका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्थामा सामान्य छ । गाउँपालिकाबाट प्रदान हुने अत्यावश्यक सेवा सिमित कर्मचारीबाट सुचारु रहेका बोहराले बताए । “उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत नै संक्रमित भएपछि सेवा प्रभावित हुने नै भयो । तर कोरोना संक्रमितको उपचार र अत्यावश्यक सेवा रोकिएका छैनन्” बोहराले अनलाइन डबलीसँग भने ।
गाउँपालिकामा अहिले १ सय ७ जना संक्रमित रहेका छन् । संक्रमितको सेवा र आवश्यक उपचारको लागि व्यवस्था गरिएको छ । गाउँपालिकामा एउटा भाडाको गाडी र एम्बुलेन्स तयारी अवस्थामा राखिएको अध्यक्ष बोहराले बताए ।
गाउँपालिकामा दुई जना स्टाफ नर्स र १ जना एमबीबीएस डाक्टर कोरोना संक्रमितको उपचार खटिएका छन् । कोरोना संक्रमण फैलिन थालेपछि गाउँमै उपचार गर्न अध्यक्ष बोहराले एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा सुरुको लागि पहल गरेका थिए । एक वर्षदेखि एमबीबीएस डाक्टरसहितको गाउँपालिकामै संक्रमितको उपचार हुँदै आएको छ । यो सेवासँगै सामान्य बिरामीलाई नै मंगलसेन वा धनगढी ल्याउन पर्ने बाध्यता हटेको छ ।
कोरोना भाइरस संक्रमणबाट मेल्लेख गाउँपालिकामा अहिलेसम्म चार जनाको ज्यान गइसकेको छ ।