
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या बढ््दै गएको छ । केही दिन पहिला संक्रमित संख्याको तुलनामा निकै कमले मात्रै कोरोना जितेर सामान्य जीवनमा फर्र्किएका थिए । तर, त्यो संख्या बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन ६ हजार १३५ जनाले कोरोना जितेर घर फर्किएका छन् । विहीबार ४ हजार संक्रमित निको भएका थिए । शुक्रबारको संख्या निको हुनेको संख्या अहिलेसम्मकै धेरै हो ।
स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गरेको विवरणअनुसार संक्रमण दर केही घट्दै गएको छ । केही समय पहिले परीक्षण गरिएका नमूनाको आधाजस्तो संक्रमित हुन्थे । शुक्रबार संक्रमणदर भन्दा निको हुने दर बढी छ । कुल २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएका थिए भने ६ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका थिए ।
शुक्रबार २१ हजार बढीको परीक्षण हुँदा ८ हजार संक्रमित थपिनु र ६ हजार बढी निको हुनुलाई सकारात्मक रुपमा लिइएको छ । यसलाई विज्ञहरुले निषेधाज्ञाको प्रभाव भएको चिकित्सकहरुले जनाएका छन् । शुक्रराज सरुवा रोग अस्पतालका सरुवा रोग विज्ञ डा. शेरबहादुर पुनले अहिले नै संक्रमण बट्यो भन्न नसकिने भएपनि निषेधाज्ञाको प्रभाव देखिएको बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने बढिरहेको छ । विहीबार १६८ जनाको ज्यान गएको थियो भने शुक्रबार त्यो बढेर २ सय ३ जनाको निधन भयो । शुक्रबार थपिएसहित नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या ४ हजार ६६९ हजार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबारसम्म नेपालमा अहिले १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित (रहेका छन् । उनीहरुमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै, एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरका अस्पतालहरुमा अक्सिजन अभाव बढ्दै गएको छ । सरकारले अक्सिजनको व्यवस्था गर्न नसक्दा संक्रमितहरुको ज्यान गइरहेको छ । यसैबीच सरकारले अक्सिजनको कोटा प्रणाली हटाएको छ । अक्सिजनको व्यवस्था गर्ने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ ।