
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।
यसका साथै पुरानै मन्त्रीलाई निरन्तरता दिएर नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ । नयाँ मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी आजै मन्त्रिमण्डलका अन्य सदस्यहरुले पनि शपथ दिएका छन् । अहिले निवर्तमान मन्त्री नै नयाँ मन्त्रीको शपथ लिएका छन् ।