
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत मागेका छन् । ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामको विवरण राखेका थिए । उनले देश तीब्र गतिमा विकासमा गइरहेको भन्दै साना र झुटो कुरा ल्याएर सरकारलाई हिलो छ्याप्ने काम भएको बताए ।
ओलीले कसैले भ्रष्टाचार गरेको भए अक्षम्य हुने र छानबिन गरेर कारबाही गर्ने बताउँदै सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए । कोरोनाविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भएको आरोप समेत लगाए ।
प्रधानमन्त्रीले भ्याक्सिन अभाव भएपनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको उनले बताए । पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटर व्यवस्था गरेको भन्दै प्रधानमन्त्री ओलीले कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो शर्त भएको बताए ।
प्रधानमन्त्री ओलीले कसैले भ्रष्टाचार गर्छ भने यस्तो अपराध क्षम्य भएको बताउँदै छानविन गरेर कारबाही हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका, सार्वभौम जनताको भावना र हितहरुको प्रतिनिधित्व गरेका जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताए ।
आफूले कामको व्यवस्तताले फोन वा भेट गर्न नसकेको बताउँदै अब भुलेर विश्वासको मत दिने आग्रह गरे । उनले कुन दलको भन्ने नठानेर जनताको प्रतिनिधि सम्झेर मत दिन अनुरोध गर्दै आफ्ना कुरा राखे ।
त्यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने भन्दै विपक्षमा मत दिन सबै सांसदहरुलाई अपील गरे । देउवालाई तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको समेत बताए ।
विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए । देउवाले कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार ओलीमा भएको भन्दै देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो ? भन्ने प्रश्न समेत गरे ।
लिखित सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री ओलीले सिर्जना गर्नु भएको अंकगणित दम्भ, कुशासन र भ्रष्टाचारका कारण भएको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार नभएको दाबी समेत गरे । ओलीको कार्यले कम्युनिस्ट आन्दोलन नै छियाछिया पारेको बताए ।
प्रचण्डले ओलीले विश्वासको मतको नाममा फेरि संसद् विघटन गरेर मध्यावधिमा जाने षड्यन्त्र गरेको त होइन ? भन्ने प्रश्न गरे ।