
काठमाडौं । कोरोना भाइरस तपाईदेखि पहाडी जिल्लामा संक्रमण फैलिरहेको छ । पहिलो लहरभन्दा दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ । बुधबार अहिलेसम्म संक्रमण र मृत्युदर कै उच्च् बिन्दुमा पुगेको थियो ।
कोरोना भाइरस नियन्त्रणको लागि स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गरिरहेका छन् । आज विहानसम्म आइपुग्दा बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । त्यस्ते, बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
बारा र सिरहामा बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभएसम्म रहने छ भने बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । बाग्लुङकै तमानखोला र बरेड गाउँपालिकामा भोलि बिहान पाँच बजेदेखि निषेधाज्ञा सुरु हुनेछ ।
त्यसैगरी गृहमन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अन्तर्गत बनदेउदेखि तातोपानीसम्म, खाडीचौरदेखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको जिल्लाभित्र, बनदेउदेखि चौतारा हुँदै स्याउलेसम्म, जिरोकिलो हुँदै बाहुनेपाटी–सिपाघाट मेलम्ची–हेलम्बुको केउल सडकखण्डमा दायाँ बायाँ पाँच–पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ । त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
योसँगै देशभर पूर्ण र आंशिक गरी निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ५६ पुगेको छ । जसम्मध्ये ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यका तीनै जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, कञ्चनपुर र सुनसरी गरी १० जिल्लामा निषेधाज्ञा थप गरिएको छ । यी जिल्लाहरुमा आउँदो २९ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
मन्त्रिपरिषद्को बैठकले हिमाली र पहाडी जिल्लामा २ सय र तराई तथा सहरी क्षेत्रमा ५ सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएको थियो ।