काठमाडौं । कोरोना भाइरस संक्रमणबाट न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएर काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उपचाररत निरालाको मंगलबार विहान निधन भएको हो ।
कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुन् ।
उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन् ।
यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको निरौलाले संचारमाध्यमलाई जानकारी दिएका छन् ।
प्रजिअ निरौलाको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेका छन् । उनले आफूले प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय रहेको समेत बताएका छन् ।