
धनगढी । कोरोना भाइरस संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप ५ जनाको ज्यान गएको छ । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको निधन भएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक÷एक जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान निधन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् । वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा ज्यान गएको हो ।
कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि निधन भएको छ ।
सोमबार मात्रै सुदूरपश्चिम १४ जना कोरोना संक्रमितको ज्यान गएको थियो । कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको सोमबार निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
निर्देशनालयका अनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ जना र दार्चुलाका एक जनाको निधन भएको थियो ।
त्यसैगरी सोमबार सुदूपश्चिम प्रदेशमा थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार दुई सय १३ जनाको नमुना परीक्षण गर्दा ३४३ जनामा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण दर र ज्यान गुमाउनेको संख्यलाई हेर्दा सुदूरपश्चिम प्रदेशमा कोरोना भयाभह बन्ने विज्ञहरुले बताएका छन् ।