
काठमाडौँ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले हवाई उडान पनि बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न काठमाडौँ उपत्यकासहित तीन दर्जन जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ ।
हवाई उडानमा स्वास्थ्य मापदण्ड पालना नभएको र भिडभाड भएको भन्दै आलोचना भइरहेको बेला आइतबार मन्त्रिपरिषद् बैठकले भोलि (सोमबार)बाट आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । भोलि राति १२ बजेबाट सबै आन्तरिक हवाई उडान बन्द हुने भएका छन् ।
त्यसैगरी बैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने पनि सरकारले आजै निर्णय गरेको छ । यसअघि सीसीएमसीले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ । आज मात्रै कोरोना संक्रमणले नयाँ रेकर्ड भएको छ । आज अहिलेसम्मकै धेरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमण यता आजको संख्या सबैभन्दा धेरै हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५ हजार ७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
आज १ हजार ६१२ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको ज्यान गएको हो । योसँगै कोरोना संक्रमणबाट नेपालमा ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।
आज काठमाडौँ उपत्यकामा रेकर्ड संक्रमित फेला परेका छन् । उपत्यकामा अहिलेसम्मकै धेरै ३ हजार ५ सय ९५ संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडौमा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।