News Portal

  • नेपालमा फेरि बढ्यो घातक प्रदूषण, काठमाडौं विश्वकै एक नम्बर प्रदूषित शहर

    डबली संवाददाता२०७७ चैत्र २४ गते
    ९४ पटक

    काठमाडौं । नेपालमा फेरि वायु प्रदूषण बढेको छ । केही दिन कम भएको प्रदूषण सोमबारबाट बढ्न थालेको थियो । मंगलबार विहानैबाट काठमाडौंसहित देशका मुख्य शहर प्रदूषण बढेको छ । वातावरण विभागले काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको जनाएको छ ।

    मंगलबार विहानसम्म काठमाडौं विश्वकै एक नम्बर प्रदूषित शहर बनेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अतिहानिकारक मानिन्छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।

    त्यस्तै, ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्ल्यूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ । काठमाडौंमा सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगञ्ज, पोखरालगायत सहरहरुको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ ।

    यसैबीच वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले आग्रह गरेका छन् । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमलिएको र प्रदूषित भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ ।

    यसअघि देशभरको वायु प्रदूषण उच्च बिन्दुमा पुगेसँगै सरकारले चैत १३ गतेदेखि ४ दिन विद्यालय बन्द गराएको थियो । गर्मी बढेको तर पानी नपरेकाले सुख्खापन धेरै हुँदा देशका विभिन्न जंगलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्