काठमाडौं । लामो समयदेखि सैन्य झडप हुँदै आएको लद्दाख सीमा क्षेत्रबाट आ-आफ्नो सेना फिर्ता गर्ने चीन र भारतबीच सहमति भएको छ । दुबै देशबीच सीमा क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको जनाएका छन् ।
चीन र भारतका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमति भएको हो । यसको पुष्टि गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम परमाणुअस्त्रसम्पन्न मुलुहहरूबीच भएको निरन्तरको वार्ताको परिणाम भएको बताए ।
संसदमा बोल्दै सिंहले गत सेप्टेम्बरयता दुवै पक्षले सैनिक र कूटनीतिक माध्यमहरूबाट कुराकानी थालेको जानकारी दिएका छन् ।
चीनले पनि सैन्य फिर्ता गर्ने सहमति भएको पुष्टि गरेको छ । चीनको राष्ट्रिय प्रतिरक्षामामिला मन्त्रालयका प्रवक्ताले पान्गोङ त्सो तालबाट संयोजित र व्यवस्थित रूपमा पछाडि हट्ने कार्य आरम्भ भएको जानकारी दिए ।
गत जुनमा दुई देशका सैनिकहरूबीच भएको भि डन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । भारत र चीन दुवैले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् ।