आज :

कोरोना संक्रमितको मन छुने दृश्यः भेन्टिलेटरमा जानुअघि विवाह

काठमाडौं । कोरोना भाइरस संक्रमितको एउटा दृश्यले संसारका मानिसहरुको मन छोएको छ । कोरोना भाइरसबाट संक्रमित प्रेमी-प्रेमिकाले भेन्टिलेटरमा जानुअघि विवाह गरेका छन् । उनीहरुले आफूहरुबीचको चोखो प्रेमलाई विवाहमा परिणत गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

यो घटना बेलायतको हो । कोभिड-१९ बाट सङ्क्रमित भएका कारण अस्पताल पुर्‍याइएका ३६ वर्षका साइमन ओ ब्रायन र ३१ वर्षकी एलिजाबेथ करबीच अस्पतालमै विवाह गरिएको हो । साइमनलाई श्वासप्रश्वासमा समस्या देखिएसँगै ज्यानुअरी ९ तारिखमा यूकेस्थित मिल्टन कीन्स युनिभर्सिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल भर्ना गरेर उपचार गरिएपनि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि त्यहाँका कर्मचारीहरूले विवाहको प्रबन्ध मिलाएका थिए ।

त्यस्तै एलिजाबेथ करपनि कोरोना संक्रमित हुन् । पेसाले नर्स कर र ओ ब्रायनले आगामी जुन महिनामा विवाह गर्ने योजना बनाएका थिए। तर उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएसँगै अक्सिजनको तह निकै कम पुगेपछि अस्पताल दौडाइएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

सुरुमा उनीहरूलाई फरक वार्डमा राखिएको थियो। तर करले नर्स हाना क्याननलाई आफूहरूको विवाह गर्ने योजना सुनाएपछि ती नर्सले अस्पतालमा विवाह गर्ने विषयमा सोधेकी थिइन् । करका अनुसार उनलाई विवाह गर्ने यो नै अन्तिम मौका हुनसक्ने बताइएको थियो। “यी त्यस्ता शब्द हुन जुन म फेरि कहिल्यै सुन्न चाहन्न,” उनले भनिन्।

अस्पतालका कर्मचारीहरूले विवाहका लागि आवश्यक अनुमति लिने प्रयास गरिरहेका बेला ओ ब्रायनको अवस्था थप बिग्रियो र ज्यानुअरी १२ तारिखमा उनलाई भेन्टिलेटरमा राख्नको लागि आईसीयूमा लगियो।

“हामी सबै मिलेर उनीहरूको विवाह गरायौँ। उनीहरूले चाहे जस्तो विवाह यो नहुन सक्छ तर पक्कै पनि यो केही हदसम्म सकारात्मक, असाधारण अनि स्मरणीय हुन सक्छ,” क्याननले भनिन्। परिवार सदस्य अनि साथीहरूका लागि उनले विवाह समारोहको भिडिओ कैद गरिन्। अस्पतालमा खानपानको प्रबन्ध गर्ने कर्मचारीहरूले केकको व्यवस्था गरेका थिए ।

विवाह सम्पन्न भएको केही समयपछि नै ओ ब्रायनलाई भेन्टिलेटरमा राखियो। हाल उक्त दम्पती एउटै वार्डमा छ र विवाह भएपछि पहिलोपटक चुम्बन गर्न सफल भएको छ। करले विवाह हुनु आफूहरूका लागि सम्पूर्ण कुरा रहेको बताएकी छन्। उनले भनिन्, “हामी एक अर्का सँगै नभएको भए र हामीलाई विवाह गर्ने मौका नदिइएको भए मलाई लाग्दैन कि हामी दुवै यहाँ सँगै हुने थियौँ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal