
काठमाडौं । आजबाट भारतले नेपाललाई कोरोना भइरसबिरुद्धको खोप अनुदानमा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ खोप नेपाललाई अनुदानमा खोप दिने प्रक्रिया सुरु गरेको छ ।
खोप एक हप्ताभित्र नेपाल आइपुग्ने बताइए पनि नेपालीको पहुँचमा कहिलै आइपुग्छ भने केही निश्चित छैन ।
भारतले पहिलो चरणमा खोप अनुदानमा दिने र दोस्रो चरणमा खरिद गर्नु पर्नेछ । अनुदानमा दिइएको खोप स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई लगाउने सरकारी तयारी छ । भारतको खोप प्रयोग गर्न सरकारले अनुमति दिइसकेको छ ।
नेपालसँगै भारतले भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई पनि अनुदानमा खोप दिने तयारी गरेको छ ।
भारतले विकास गरेको कोभिसिल्ड प्रयोगपछि धेरै बिरामी भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दुई जना स्वास्थ्यकर्मीको त मृत्यु भइसकेको छ । अरु दर्जनौं बिरामी छन् । भारतले विकास गरेको खोपप्रति भारतमै विश्वासको वातावरण बन्न नसकेको बेला नेपालमा भने प्रयोग गर्ने अनुमति दिइएको छ ।