
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाली काँग्रेस नेता भक्तिप्रसाद तिमिल्सिनाको ज्यान गएको छ । काँग्रेस चितवनका नेता तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार गरिएको थियो ।
अस्पतालका अनुसार उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या थियो । ७७ वर्षीय तिमिल्सिनाको गएराति उपचारकै क्रममा निधन भएको थियो । नेपाली काँग्रेस चितवनले तिमिल्सिनाको निधनप्रति शोक व्यक्त गरेको छ ।
विसं २००१ माघ २५ गते उनको जन्मेका तिमिल्सिना साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य समेत भएका थिए ।
रेडियो देवघाटको अध्यक्ष समेत रहेका तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर पार्टीमा क्रियाशील थिए ।