काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष २०२१ सुरु भएको छ । सन् २०२० नलाग्दै सुरु भएको कोरोना महामारी विश्वभर फैलिएर ज्यान लिइरहेको छ । एक वर्ष पूरा हुनै लाग्दा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखा परेको छ ।
दक्षिण अफ्रिकाबाट फैलिएको भनिएको नयाँ प्रकारले अहिले युरोपलगायतका धेरै देशहरुमा पुगिसकेको छ । नयाँ वर्ष २०२१ सुरु हुनै लाग्दा नयाँ भेरियन्ट चीनमा पनि भेटिएकको छ । चीनमा नयाँ कोरोनाका संक्रमित भेटिएका छन् ।
कोरोना फैलिएको एक वर्षपछि फेरि चीनमै नयाँ कोरोना संक्रमण पुष्टि भएसँगै चिन्ता झन् बढेको छ । नयाँ भाइरसबाट अहिलेसम्म सबैभन्दा धेरै प्रभावित बेलायत बनेको छ ।
चाइनीज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक वक्तव्यलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले चीनमा कोरोनाका नयाँ भेरियन्टको पहिलो संक्रमित भेटिएका बताएको छ ।
संसारका धेरैजसो देशले हाल बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीब्र गतिमा फैलने बताइएको छ ।
चीनमा यो नयाँ भेरियन्ट एक २३ वर्षीयामा महिलामा भेटिएको हो । यी महिला बेलायतबाट चीन फर्किएकी थिइन् । चीनमा यो पहिलो मामिला हो तरपनि चीन यो विषयमा निकै सतर्क छ । चीनले बेलायतका लागि सबै उडान हालका लागि स्थगित गरिदिएको छ ।