काठमाडौँ । कोरोना संक्रमित बोकेको भन्दै पटकपटक विवादमा आउने गरेको नेपाल एयरलाइन्सले फेरि संक्रमित बोकेको छ । बुधबार मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाजमा कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं आएपछि फेरि विवादमा तानिएको हो ।
मलेसियाबाट १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक युवा काठमाडौं पुगेको जाँचको क्रममा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा उनले रिपोर्ट पोजिटिभ देखाएका थिए ।
जहाज चढ्नु ७२ घण्टाअघि कोरोना परीक्षण गरेर नेगेटिभ आएको यात्रु मात्रै जहाजमा चढाउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । यही अभ्यासअनुसार विदेशबाट आउने सबै यात्रुले पीसीआर गर्नुपर्ने हुन्छ । रिपोर्ट नेगेटिभ आएकालाई मात्रै जहाज चढाउनुपर्थ्यो तर नेपाल एयरलाइन्सको आरए ४१६ जहाजले बुधबार मलेसियाबाट पीसीआर रिपोर्ट पोजिटिभ देखिएको यात्रुलाई समेत ल्याएको हो । पीसीआर रिपोर्ट हेर्दा पोजिटिभ देखिएपछि उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले मलेसियाबाट पोजिटिभ भएर आएकालाई भर्ना गरिएको बताए । ती युवाको स्वास्थ्य अवस्था सामान्य छ । जहाजबाट ओर्लिएर टर्मिनलभित्र छिर्नेबित्तिकै हेल्थ डेस्कमा रिपोर्ट देखाउनुपर्ने हुन्छ । ती युवामा कोरोना पोजेटिभ भएको थाहा पाएपछि विमानबाट आएका यात्रुबीच हल्लीखल्ली मच्चिएको थियो ।
विमानमा आएका १ सय ४५ मध्ये ५४ जनालाई होटलको क्वारेन्टाइनमा राखिएको छ । उक्त जहाज बुधबार बिहान पौने ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।