
काठमाडौं । टर्की कोरोनाविरुद्धको चिनियाँ खोप लगाउने लगाउने अन्तिम तयारीमा पुगेको छ । आम सर्वसाधारणलाई लगाउन टर्कीले पहिलो चरणमा ३० लाख कोरोनाविरुद्धको खोप देश भित्र्याइसकेको छ ।
चीनले विकास गरेको खोप बाँकी विश्वले कहिले पाउँछ भन्ने चासो बढिरहेको बेला टर्कीले सिनोभ्याक खोपको ३० लाख मात्रा भित्र्याएकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आधारभूत प्रक्रिया पूरा गरेपछि खोप आम नागरिकलाई लगाइदिने योजना रहेको टर्कीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै नागरिकले पाउने जानकारी दिनुभएको छ ।
सिंगापुरले हिजोबाट आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ भने बेलायत, अमेरिकालगायतका देशहरुले यसअघि नै कोरोना खोप लगाउन सुरु गरिसकेका छन् । खोप लगाउने अभियान तीव्र बन्दै गर्दा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम भने उस्तै छ । गएको २४ घण्टामा विश्वमा छ लाख ७० हजार पाँच सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसैबीच बेलायतले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको खोपलाई प्रयोगको लागि अनुमति दिएको छ । बेलायतले उक्त भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकासँग दश करोड भ्याक्सिनको माग पनि गरिसकेको बीबीसीले जनाएको छ । पाँच करोड मानिसमा लगाउनको लागि यति औषधि पर्याप्त हुने बताइएको छ । एस्ट्राजेनेकालाई मेडिसिन रेगुलेटरले अनुमति दिएसँगै यस भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी ठानिएको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिनलाई २०२० को सुरुवाती महिनामै बनाउन सुरु गरिएको थियो । अप्रिलमा पहिलोपटक यसको परीक्षण गरिएसँगै हजारौं मानिसमा ‘क्लिनिकल ट्रायल’ पनि भइसकेको छ ।
विश्वका केही देशहरुमा कोरोना खोप लगाउन सुरु गरिसक्दा पनि संक्रमण नियन्त्रण बाहिर नै छ । अहिले फेरि कोरोनाको नयाँ प्रकार पनि तीब्र रुपमा फैलिरहेको छ । यो अमेरिकासम्म पुगिसेको छ ।
यूरोपमा पनि कोरोनाको नयाँ प्रकारले तीब्र रुपमा फैलिएको छ । अहिलेसम्म विश्वमा कोरोनाबाट ८ करोड २९ लाख ९६ हजारभन्दा धेरै संक्रमित भइसकेको छन् । गएको २४ घण्टामा १३ हजार नौ सयभन्दा धेरैको ज्यान गएसँगै विश्वका १८ लाख १० हजारभन्दा धेरैको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ । कोरोना सङ्क्रमण भएकामध्ये पाँच करोड ८८ लाखभन्दा धेरै निको भएका छन् ।