
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आइतबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्श नगरि ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन निर्दशन दिने एक नेताले बताए । संविधान र लोकतन्त्रको खिल्ली उडाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै बैठकको सुरुमै छलफल हुने ती नेताले बताए । उनका अनुसार बैठकले फिर्ता लिन प्रधानमन्त्रीलाई निर्देशन दिनेछ ।
प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन । प्रचण्डले हिजै अध्यादेश तुरुन्त खारेज हुनुपर्ने बताइसकेका छन् । त्यस्तै, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशको सार्वजनिक रुपमा चर्को विरोध गरिसकेका छन् ।
उपाध्यक्ष गौतमले त अध्यादेश ल्याएर ओलीले संविधानमाथि बलात्कार गरेको समेत बताइसकेका छन् । उनले आजको स्थायी समिति बैठकमा त्यसबारे छलफल हुने बताए ।
बालुवाटार स्रोतका अनुसार आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् । बैठकमा सहभागी भए आलोचना हुने भन्दै ओली पन्छिन खोजेका छन् । बैठकमा गएरै फेस गर्न ओली निकट नेताहरुले सुझाव दिइरहेका छन् । अहिले ओलीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाएका छन् । ओली निकट एक नेताले आफूहरुले बैठकमै गएर फेस गर्न सुझाव दिइरहेको बताए ।
अध्यादेशसँग (नेकपा) भित्रको विवाद फुटको डिलमा पुगेको छ । यसअघि पार्टीभित्र र बाहिर चौतर्फी विरोध भएपछि अध्यादेश ओलीले फिर्ता लिएका थिए । अध्यादेश फिर्तासँगै फुटको डिलमा पुगेको (नेकपा) जोगिएको थियो ।
फेरि मंगलबार अध्यादेश ल्याएसँगै (नेकपा) विभाजनको डिलमा पुगेको छ । अध्यादेश जारी भएलगत्तै प्रचण्ड निवासमा सचिवाल सदस्य र बहुमत स्थायी समिति सदस्यहरुको भेला भएको थियो । जसरी पनि अध्यादेश फिर्ता लिन निर्देशन दिनु पर्ने नेताहरुले बताएका थिए ।
संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक देव गुरुङलाई राजिनामा दिन दवाव दिइरहेका छन् । आफूविरुद्ध लागेको भन्दै बालुवाटारमै बोलाएर राजिनामा गर्न दवाव दिएका थिए । तर गुरुङले आफू पार्टीले निर्णयबाट प्रमुख सचेतक भएको बताउँदै औपचारिक निर्णय नभएसम्म राजिनामा नदिने बताइरहेका छन् ।
नेताहरुले ओलीले पार्टीको बदनाम हुने गरी अगाडि बढेको भन्दै अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउनु पर्ने बताउन थालेका छन् । मंगलबार खुमलटारमा भेला भएका अधिकांश नेताहरुले ओलीले फुटको सीमा कोरिसकेको बताउँदै अविश्वासको प्रस्ताव ल्याउनु पर्ने बताएका थिए । यता प्रधानमन्त्री ओलीले पनि आफ्नो तयारी थालेको बताइएको छ ।
एक नेताका अनुसार जारी स्थायी समिति बैठकबाटै (नेकपा)को छिनोफानो हुने बताएका छन् । ओली समूहले बैठक बहिस्कार गर्नेबारे पनि छलफल भइरहेको छ । त्यसैगरी प्रचण्ड-नेपाल समूहले पनि बैठकबाटै ओलीलाई तह लगाउने रणनीति अख्तियार गरेको छ ।