काठमाडौं । नेपला कम्युनिस्ट पार्टीका महासचिव विप्लवले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकता सत्ता स्वार्थको लागि मात्रै भएकोले दीर्घकालसम्म नजाने बताएका छन् । विप्लवले एक अन्तरवार्तामा सुस्पष्ट विचार र दृष्टिकोणमा केन्द्रीत नभएका एकता र सहकार्यहरु टिकाउन नहुने बताए ।
विप्लवले सत्तारुढ (नेकपा)को एकता कुनै विचार तथा नीतिमा भन्दा पनि अस्तित्व संकटले ल्याएको बाध्यात्मक परिस्थितिको परिणाम भएको बताए । (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सत्तामा पुग्नुपर्छ भन्ने आकांक्षाले एकता भएको बताए । ओली र प्रचण्डको एकताको केन्द्रमा देश र जनता नभएको भन्दै विप्लवले आआफ्नो समूहको संरक्षण गर्ने र जसरी पनि सत्तामा पुग्ने रहेको बताए ।
विप्लवले अन्तरवार्ताको क्रममा भने, ”यो विषयमा हामीले पहिले नै भनेका छौँ । केपी र प्रचण्डजीहरू मिलेर नेपालमा नयाँ सुरुआत भयो भनेर एकदम ठूलो हल्ला गर्नुभयो । राष्ट्रिय सभागृहबाट हामीलाई समेत एकतामा ल्याउने र सँगै जानुपर्दछ भन्नुभयो । हामीले के भन्यौँ भने एउटा सुस्पष्ट विचार र दृष्टिकोणमा केन्द्रित नभएका एकता र सहकार्यहरू टिकाउ हुँदैनन् र त्यसले झन् ठूला समस्या लिएर आउँछ भनेका थियौँ । दोस्रो कुरा, केपी–प्रचण्डको एकता कुनै विचार तथा नीतिमा भन्दा पनि अस्तित्व सङ्कटले ल्याइदिएको बाध्यात्मक परिस्थितिको परिणाम थियो । उता काङ्ग्रेस एक ढङ्गले आइरहेको र अरू पार्टीहरूको एउटा बनेको अवस्थामा प्रचण्डहरू र केपीहरूले पनि सत्तामा पुग्नुपर्दछ भन्ने आशङ्क्षा राखेको अवस्थामा कतापट्टि गठबन्धन गरेर आफ्नो शक्तिलाई उठाउन सकिन्छ ? कम्तीमा अस्थायी रूपमा भए पनि केन्द्रमा पुग्ने भन्ने मनस्थितिले यस्तो एकता बनेको थियो । त्यो एकताको केन्द्रमा देश र जनताका पक्षमा केही गर्ने भन्दा पनि जसरी पनि सत्तामा पुग्ने र आफ्नो स्वार्थ पूरा गर्ने, आआफ्नो समूहको संरक्षण गर्ने र जसरी पनि केन्द्रमा पुग्ने देखिन्थ्यो ।”
(नेकपा) भित्र त्यागभन्दा पनि अवसरको खोजी मात्रै रहेकोले एकता दीर्घकालसम्म जाने भन्ने नै नभएको विप्लवले बताए । उनले (नेकपा)भित्र एउटा अन्तरविरोध आउँछ भन्ने आफूहरुले भनेको र अहिले आएको बताए । ”उहाँहरूको अन्तरविरोधले राज्यकै चरित्र देखाउँछ व्यवस्थाकै चरित्र देखाउँछ । यो व्यवस्थामा जनताको व्यवस्था निर्माण गर्ने, जनताको स्वाधीनता सुनिश्चित गर्ने दृष्टिकोण छैन । यो व्यवस्थाको केन्द्रमा पुग्नु भनेको सुविधा पाउन र अवसर लुट्न पुग्ने हो भन्ने चिन्तनले काम गरेपछि यो अन्तरविरोध त स्वतः आउँछ नि ! एउटा रमाइलो कुरा के छ भने सत्तामा बसेका त बसेका भैहाले, अरू पार्टीको पनि जनताको जीवन र भविष्य निर्माण गर्नेभन्दा पनि व्यक्तिगत खिचातानी र स्वार्थमा अल्झिएको अवस्था छ” विप्लवले अन्तरवार्ताको क्रममा भनेका छन्।