काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुँदा पनि अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको बैठक आजसम्मको लागि स्थगित गरिएको थियो ।
मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा ओलीको अनुपस्थितिमा सुरु भएको बैठकमा दुबै अध्यक्षले पेश गरेका प्रस्ताव अध्ययनको लागि भन्दै बैठक स्थगित गरिएको थियो । दुबै अध्यक्षले पेश गरेका प्रस्तावसँगै पत्रहरु पनि स्थायी समिति सदस्यहरुलाई अध्ययनको लागि भन्दै वितरण गरिएको थियो । बैठकमा ‘पार्टीको आन्तरिक समस्या’ भन्ने शिर्षकको एउटै एजेन्डा तय गरिएको छ ।
आजको बैठकमा पनि ओली सहभागी हुने वा नहुने अहिले टुंगो लागेको छैन । तर पार्टी महासचिव विष्णु पौडेलले आजको बैठकमा ओली सहभागी हुने बताउँदै आएका छन् । ओलीले अहिले विहान आफू निकटका नेताहरुसँग बालुवाटारमा बैठक गर्न लागेको बताइएको छ । बैठकमा नेताहरुको सुझावअनुसार बैठकमा सहभागी हुने वा नहुने भन्ने टुंगो लाग्ने स्रोतले बतायो ।
ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रस्तावलाई अभियोगपत्र भन्दै त्यसमा हुने छलफलमा सहभागी नहुने बताउँदै आएका छन् । २१ गतेको बैठकमा ओलीले पत्र पठाउँदै सो जानकारी गराएका थिए ।
दुबै अध्यक्षलाई मिलाउन भन्दै ओली निकट नेताहरु शनिबार दिनभर दौडधुपमा लागेका थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनले करिब दुई घण्टा प्रचण्डसँग छलफल गरेका थिए ।
ओलीको सन्देश लिएर खुमलटार पुगेका पोखरेलले प्रचण्डलाई प्रस्ताव फिर्ता लिन र दुबै अध्यक्ष मिलेर एउटै प्रस्ताव लेख्न सुझाव दिएका थिए । तर प्रचण्डले आफू व्याक नहुने बताएका थिए ।
आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र संकटको समाधानबारे छलफल हुने भनिएपनि निकासका लागि अनौपचारिक गृहकार्य पर्याप्त भएका छैनन् ।
ओली निकट नेताहरुले पनि बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न सुझाव दिइरहेका छन् ।