काठमाडौं । चिनी मिलहरुले सहमितअनुसारको रकम भुक्तानी नगरेपछि उखु किसानहरु फेरि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले फेरि काठमाडौंमै आन्दोलन गर्ने भएका छन् ।
सर्लाहीका उखु किसानहरुले फेरि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएका छन् । त्यसको लागि उनीहरु काठमाडौं आइपुगेका छन् । उखुकाे भुक्तानी नपाएपछि बाध्य भएर काठमाडौं आउनु परेको किसानहरुले बताएका छन् । किसानहरुले बिहान ११ बजेदेखि माइतीघर मण्डलाबाट आन्दोलनको घोषणासहित प्रदर्शन गर्न लागेका छन् ।
गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानहरुलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि फर्किएका थिए । तर सरकारले गरेको पाँचबुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनुपर्ने सबै रकम नलिइकन आन्दोलन नरोक्ने किसान मिश्रले बताउनुभयो ।
आन्दोलनको अगुवाइ उखु किसान संघर्ष समिति सर्लाहीले गरेको पनि मिश्रले बताउनुभयो । माइतीघरमा हुने आन्दोलनमा एक हजारभन्दा धेरै किसानले सहभागिता जनाउने मिश्रले बताउनुभयो । चिनी मिलबाट वर्षौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको उनीहरुको गुनासो छ ।
गएकाे वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर एक वर्ष बित्दा पनि किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्कअनुसार उखु मिलसँग किसानले अझै ५२ करोडभन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।
- फाइल फोटो