आज :

संसार छोड्नुअघि लामाको श्रीमतिलाई सन्देश-…मनग्य गरि दिएकोछु, बाँकी जीवन मोज गर

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पूर्वरादूत समेत रहेका सत्तारुढ (नेकपा)का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भयो । उनको निधनले भन्दा उनले सामाजिक संजालमा पोखेका पीडा र पारिवारिक कलहले बढी चर्चा पाइरहेको छ । जीवनको अन्तिम कालसम्म लामाले पीडा पोखिरहेका थिए । उनले कतिपय कुरा सार्वजनिक होस् भनेरै भनेको देखिन्छ ।

भेल्टिलेटरमा रहेका लामाले जीवनको अन्तिम समयमा पनि श्रीमति इन्द्रमाया तामाङले साथ दिएको भन्दै गुनासो मात्रै गरेनन्, विवादको कारण पनि खोलिदिएका छन् । उनले बुझिने गरी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका कारण आफ्नो परिवारमा विवाद भएको समेत भनेका छन् । आफू नबाच्ने भन्ने बुझेरै लामाले धेरै कुरा खोलिको देखिन्छ ।

लामाको निधन भएसँगै प्रवक्ता श्रेष्ठले आफ्नी स्वकीय सचिव सुसन कर्माचार्य र लामा परिवारको झगडा मिलाउदै गरेको भिडियो र अडियो सार्वजनिक भयो । यो भिडियो लामाले नजिकलाई पहिले नै दिएको देखिन्छ । भिडियोमा ८ करोडको उक्त केस मिलाउन श्रेष्ठले दवाव दिएको देखिन्छ । उक्त भिडियो हामीले पहले नै पोष्ट गरिसकेका थियौं । सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत श्री याम्बलिङ हाइड्रोपावर प्रा.लि.को शेयर विवादलाई श्रेष्ठले मिलाउन खोजेका थिए ।

अहिले श्रेष्ठ विवादमा तानिएका छन् । उनको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ । श्रेष्ठले सुसनको सम्बन्धमाथि नै प्रश्न उठाइएको छ । श्रेष्ठले सुसनमार्फत आफ्नो लगानी गर्दै आएको समेत आरोप लागेको छ ।

अस्पतालेको बेडबाट लामाले धेरै पोष्टहरु गरे त्यो मध्ये सबैलाई बढी छोएको भनेको श्रीमतिबारेको पोष्ट हो । त्यसमा लामाले आफू जीवन मरणको लडाइँमा हुँदा समेत श्रीमतिले साथ नदिएको भन्दै श्रीमति भन्नुको औचित्य माथि प्रश्न गरेका छन् । उनले श्रीमति जाजानी धोका दिएका कारण केही सपना पूरा नभएको समेत लेखेका छन् । आफूले धेरै गरिदिएको उल्लेख गर्दै लामाले आफूले पूरा गर्न नसकेका काम अब अरुसँग पूरा गर्नु समेत भनेका छन् ।

उक्त स्टाटसको सुरुमै लामाले आमा भन्दा पछि सबैभन्दा बढी माया श्रीमतिलाई गरेको तर अहिले धोका पाएको भाव व्यक्त गरेका छन् ।

लामा संसार छोड्नुअघि लेखेकाे एउटा स्टाटसः

आमा नामनै कति मोहक शब्द “आमा ” मैले संसारमा सब भन्दाबढी मया गर्ने “आमा” प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिङ्गरुपी बर्मुडा ट्रयाङगलमा फसेकोछ ! तिमी यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन” छ्या कति कुरुप सिलावरको देक्ची कुचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !
प्रिय, तिमी त उसको परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे ! वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएँ ! ढोंगीहरुले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार ! जे होस् तिम्रा जालझेल खेती सप्रेकोनै छ । साधा जीवन उच्च विचारका होडिङबोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौं । त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हाँडी घोप्टे जस्तो लाग्छ ।

ठमेलमा ५० हजार यूएस डलरको विटा भेट्टाएछ, सोह्रखुट्टे पार्टीको भित्तामा गाइको गोवरले डलर टाँसेर झिलीमिली बनाएछ । हाँडीमा खिचडी बसाएर दुई बुढाबुढी गीत गाएर नाचिबसेको खोजदै जाने प्रहरी र टुरिष्टले भेटेछ, यहि केशले हाँडी घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो ।
हाम्रा माहानर पा . का माहान् साधु सन्त नेताका यत्तिको नैतिक्ता र विचार पनि मैले देखिन,  थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरु !

प्रिय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्य्राण्गलमा फस्यो प्रीय ! १. मेरो DIGNITY स्वाभिमानको ट्य्राङगल २. चल अचल भौतिक सम्पती प्रतिको तिम्रो आसक्ती ३. हाम्रो बीचको सामाजीक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिबर्तनले ल्याएका अन्तर बिरोधहरु ।

यो हो हाम्रो बीचको अहिलेको बर्मूडाको ट्य्राङगल ! याद गर प्रिय मैले तिमीलाई सबै कुरो सम्पतीसम्म सुम्पे तर मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिईएको छैन ! धेरैले नबुझेका र तिमीले पनि नवुझेको कुरो यहि छ । बर्मुडा ट्य्राङगल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन तर यसको बनावट भूमध्य रेखा काल्पनीक लाइनसँगै भएको हो । जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो, हामी बसेको भूभाग गोण्डावना ल्याण्डसँगै दक्षिणी धुर्बमा टाँसिएर बसेको थियो । त्यसबखत ठूलाठूला भौगोलिक उथलपुथल भइरहन्थे । एक्कास्सी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसँग छुट्टियो, ३ मिटर उत्तर सर्यो, पृथ्वीबीचमा उसिनेको अण्डा बीचमा फ़ुटाएको जस्तो फुट्यो ।

पृथ्वी दुई भागमा बाँडियो, उत्तरी गोलार्द पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड । यहि घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्रयाङगल बन्यो, त्यो आज पर्यन्त अभेद्य छ । त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं ।

प्रिय, तिमीले कुरा नबुझ्दा र तिमीले जानीजानी धोका दिँदा मेरा केही सपनाहरु अधुरानै रहने भए । राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडी पुर्याइ हाले, के कुरा गर्ने ? तिमी म दुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने । विश्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने !

माचिपिच्यूमा पूरानो पोर्तुगीज खाना खाने ! गोन्जालोको देश हेर्ने ! माकलबारीमा आफ्नै पिरामीड बनाउने पोहोरै योजना बनाएको थिएँ, त्यो तिमीले भाँडी दियौं । मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेवाट रस्वास्वदन हमीदुइ साथै गर्ने सपना अधुरै रहने भयो । ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने, उलान बटोर र ऐतिहासीक गोवि मरुभूमीमा उंट चढने सपना अधुरै रहने भयो ।

मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान, वुसानम्यानले गरेका उपलब्धी र आदीबारे अलि शुक्ष्म अध्ययन गरी हाम्रो ठुंसाका बारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने !

दोङसिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समुह र मंगोल मूलका पुर्खाहरुले एक ठूलो नदीको धार परिबर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्यचकित हुने हाम्रा प्रागकालिन पुर्खाको पौरख र शीप विज्ञान प्रविधिसँगै पढने ईच्छा अधुरै रहने भयो ! हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्ययन भ्रमणको रूपमा डुल्ने योजना पनि थियो त्यो अधुरै रह्यो ।

प्रिय, म कोरोनाले लिएर जानको लागि सबै योग्यता पुगेको मान्छे । म अरुले भने मृत्यु शैयाबाट भन्थे होला तर म भन्दिन ! कोभिडसँग पैंठेजोडी खेल्दैछु ! सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि तर म आत्तिन्न ।

यो अन्तीम घडिमा पनि मेरो धन मेरो लागि काम लाग्दैन भने त्यो धनको के काम ! आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो ?

यो जीवनको जीवन मरणको लडाइँको बेला मेरो श्रीमति म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरि खान मनग्य गरि दिएकोछु ! बाँकी जीवन मोज गर । मैले पूरा गर्म नसकेको अधुरा काम अरुसँगै पूरा गर ! आठै आस्वर्य हेर्ने घुम्ने भोक मैले नै जगाई सकेकोछु तिमीलाई सक्षम पनि छौं, लौ बधाई प्रीय ।

२८/३० बर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै सुखद् नै रह्यो ! यो ६/७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विश्वास घात पाएँ । मेरो सेयरको करीब दुई वर्षको साँवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो ! उसले पैसा नदिए सिधै म सँग मिल्न आइज हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !

प्रिय यदि तिमी जाली फटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने, सम्बन्ध छ भनिरहनु को औचित्यै के रह्यो र प्रिय ! कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएँ माफ गर प्रिय ! यदि  म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु, यो मेरो बिन्ती !

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal