काठमाडौं । सधैं व्यस्त रहने कलंकीमा शुक्रबार साँझ डरलाग्दो दुर्घटना भयो । एउटा ट्रकले धन्दाधुन्धा ठक्कर दिन थालेपछि सडकमा कोलाहल नै चल्यो । ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गयो र अन्य सात जना घाइते भए ।
ट्रकको ठक्करबाट ६ वटा अरु सवारी सधानमा काम नलाग्ने गरी क्षति पुग्यो । प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रकले ढुंगेअड्डामा एकसाथ छ वटा सवारी साधनलाई ठक्कर दियो । प्रदेश–२- ०३- ००१ ख १४२० नम्बरको ट्रकको ब्रेक फेल हुँदा नियन्त्रण बाहिर गएको थियो ।
ट्रकको ठक्करबाट ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ। दुर्घटनामा थप सातजना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रहरीका अनुसार दुर्घटनामा रजित चौधरी, गणेश शर्मा, साजन खत्री, रामचन्द्र सिंम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्या थिङ घाइते भएका छन् ।
ट्रकले बा २ ज २०४७ नम्बरको ट्याक्सी, बा ४ च २२१ नम्बरको पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको यात्रुबाहक बस, बा ५१ प ४९५१ नम्बरको मोटरसाइकल प्रदेश नम्बर ३–०२००६ प १३४१ नम्बरको मोटरसाइलक र अर्को एक स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो ।
घटनाका प्रत्यक्षदर्शी स्थानीय सागर बिकले यस्तो दुर्घटना आफूले पहिलो पटक देखेको बताए । फिल्ममा देखाइने सिन जस्तै लाग्ने गरी ट्रकले अन्धाधुन्धा ठक्कर दिन थालेपछि चिच्चाहट चलेको बिकले बताए ।
”मैले यस्तो दुर्घटना पहिलो पटक देखेँ, मलाई लाग्छ यो घटना कलंकीबासीको लागि अहिलेसम्मकै डरलाग्दो हो । सडक एकै पटक रणमैदानजस्तै भयो” बिकले भने ।