सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जनसरकार र जनअदालत गठन गरेको घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले जिल्लका ९ वटै स्थानीय तहमा समानान्तर सत्ता (जनसरकार) घोषणा गरेको जनाएको छ।
कालिकोटमा तीन नगरपालिका र ६ गाउँपालिकामा छन् । सबै स्थानीय जनसरकार घोषणा गरेको नेकपा कालिकोटका सेक्रेटरी ‘रणदीप’ले जनाएका छन् । स्थानीय सरकारको विकल्पमा आफ्नो पार्टीले समानान्तर जनसरकार गठन गरेको रणदीपले जानकारी दिए।
नेकपा कालिकोटका अनुसार नरहरीनाथ गाउँपालिकामा मनबहादुर विष्ट, सान्नीत्रिवेणी गाउँपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचाल झरना गाउँपालिकामा चम्फसिंह बस्नेत, पलाँता गाँउपालिकामा अनरुप विक, खाँडाचक्र नगरपालिकामा अबिरल तिरुवा, शुभकालिका गाउँपालिकामा धर्म विक र महाँवै गाउँपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमुखको जिम्मेवारी दिएको छ। त्यसैगरी अर्जुन बिक प्रमुख रहनेगरी जिल्ला समन्वय समितिको पनि समानान्तर निकायका रुपमा नेकपाले जिल्ला जनसरकार गठन गरेको छ।
जिल्ला सेक्रेटरी रणदीपका अनुसा स्थानीय तहले जनसरकारलाई कुल बजेटको २ प्रतिशत कर तिर्नुपर्ने, स्थानीय सरकारले विकासमा खर्च गर्ने बजेटको ५० प्रतिशत बजेट जनसरकारलाई दिएर कार्यन्वयन गर्नुपर्ने निर्णय पनि नेकपाले गरेको छ । कर नतिरे र बजेट जनसरकारलाई नदिए जिल्लाबाट स्थानीय तहका प्रतिनिधिहरुलाई काम गर्न नदिने नेकपा कालिकोटले जनाएको छ ।
जनसरकारसँगै नेकपाले जिल्ला जनअदालत पनि गठन गरेको छ । जसमा न्यायाधीशको जिम्मेवारी कमल बटालालाई दिइएको छ। स्थानीय सरकारदेखि प्रदेश तथा संघीय सरकारका योजनामा अनियमितता भए, गाउँमा जनतालाई अन्याय भए जनअदालतमा उजुरी दिन पाइनेछ । उजुरी उपर बयान दिन जनअदालतमा उपस्थित नहुने जनप्रतिनिधि तथा कर्मचारीलाई पहिले युवा संगठन खटाउने त्यसले नसकेपछि जनमुक्ति सेना परिचालन गरेर जनअदालतमा हाजिर गराउने र दोषीभए जनकारबाही गर्ने नेकपाले जनाएको छ ।