
सुर्खेत । हुम्लाको सिमकोटमा जीप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ । सिमकोट गाउँपालिका–७, ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी बालकसहित अन्य ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार ज्यान गुमाउनेमा सिमकोट गाउँपालिका–७, का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२, का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्काकी ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङ रहेका छन् । उनिहरुको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।
गएराति ११ बजे भएको दुर्घटनामा परी सिमकोट–२, ठेहेका जिप चालक सम्राट भण्डारी, प्युठान स्थायी घर भई सिमकोट–६ बस्दै आएका अजय बस्नेत, सिमकोट–८ खोल्सीकी कल्पना सिंह, सोही ठाउँका एक वर्षीय बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुमझुम लामा र सिमकोट बजार बस्दै आएका बाजुराका कवि सिंह घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप फर्किने क्रममा सडकभन्दा करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । घटनास्थलमा जिल्ला सदरमुकामबाट जिप र ट्याक्टरमा गएर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्दार गरेका थिए ।