काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १ हजार २ सय ७२ जना संक्रमित भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६८ पुगेको छ ।
त्यसैगरी शुक्रबार थप १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा १ हजार ५ सय ६७ जना पुगेको छ । केही दिन घटेको मृत्युदर आज फेरि बढेको छ ।
शुक्रबार थप १५ सय भन्दा बढी संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । योसँगै २ लाख २१ हजार ८४७ जना कोरोनामुक्त भइसकेका छन् । संक्रमित निको हुने दर ९२.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार देशभर १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको परीक्षण भएको छ । योसँगै नेपालमा अहिलेसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर भएको छ ।
आज पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काडमाडौं उपत्यकामा ६०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।