काठमाडौं । नेपालमा कोरोना संक्रमित भन्दा निको भएर सामान्य जीवनमा फर्किनेको संख्या लगातार बढिरहेको छ । विहीबार पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार विहीबार १ हजार ३४३ जना संक्रमित हुँदा २ हजार १११ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा अहिले सक्रिय संक्रमित १५ हजारमा झरेका छन् ।
कुल २ लाख ३७ हजार ५८९ जनामा संक्रमितमध्ये विहीबारसम्म २ लाख २० हजार २७२ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ । अब देशभर १५ हजार ७६६ जना सक्रिय संक्रमित छन् ।
बितेको २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ ।
त्यसैगरी दुई दिनयता मृत्युदर पनि घटेको छ । बुधबार ११ जना संक्रमितको निधन भएको थियो भने विहीबार थप १३ जनाको मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा हालसम्म १ हजार ५५१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
आज पनि सबैभन्दा बढी काठमाडौंमा संक्रमित थपिएका छन् । मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा र मोरङमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने मनाङ र डोल्पामा शून्य संक्रमित रहेका छन् ।