काठमाडौं । नेपाली कांग्रेसले देशभर विहीबार देशभर प्रदर्शन गर्ने चेतावनी दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्हरीले रिहा गरेको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।
पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएसँगै काँग्रेस नेता कार्यकर्ता सडकमा निस्किएका थिए । नेविसंघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको थियो ।
सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर तनहुँ घटनाले सरकारको अधिनायकवादी सोच उदांगो भएको बताउँदै आपत्ति जनाए । पौडेललाई रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए ।
उपभोक्ता समितिले नेता पौडेललाई पुल उद्घटना गर्न बोलाएको थियो तर सत्तारुढ (नेकपा)का जिल्ला नेताहरुले अवरोध गर्न खोजेका थिए । त्यही बहानामा स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधित क्षेत्र घोषित गरेको थियो । आफ्नो कार्यक्रममा बाँध पुर्याउन सत्तारुढ (नेकपा)ले प्रशासनको दुरुपयोग गरेको काँग्रेसले बताएको थियो ।
आफूलाई पुल उद्घाटन गर्न रोक्न निषेधाज्ञा घोषणा गरिएको भन्दै नेता पौडेलले तोड्न भनेका थिए । पौडेलको निर्दशनपछि काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरु नाराजुलुसहित निषाधाज्ञा तोड्ने प्रयास गरेका थिए । सोही क्रममा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।