
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आज (मंसिर ८ गते) सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउँदैछ । नेकपाले ६ गतेदेखि देशभर विभिन्न कार्यक्रम गरिरहेको छ । पार्टी महासचिव विप्लवले यसअघि विज्ञप्ति जारी गरेर ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाउने सार्वजनिक गरेका थिए ।
तत्कालि नेतृत्वले धोका दिएको भन्दै मोहन वैद्यको नेतृत्वमा २०६९ सालमा माओवादी केन्द्रसँग सम्बन्ध विच्छेद गरी नेकपा-माओवादी गठन गरिएको थियो । वैद्यको नेतृत्वमा क्रान्ति अगाडि बढ्न नसक्ने भन्दै विप्लवले नेतृत्वमा २०७१ साल मङ्सिर ८ गते पार्टी पुनर्गठन गरिएको थियो।
मंसिर ८ गतेको जनयुद्धमा जनमुक्ति सेना घोषणा गरिएको दिनको अबसर पारेर विप्लवले पार्टी पुनर्गठन गरेका थिए । विप्लवको नेतृत्वमा पार्ट पुनर्गठन भएको आज ७ वर्ष भएको छ ।
सरकारले प्रतिबन्ध लगाएपछि नेकपाले खुला रुपमा कार्यक्रम गर्न पाएको छैन । तर पनि प्रतिबन्ध र कडा सुरक्षाबीच नेकपाले आज देशभर विविध कार्यक्रम गरी उत्सव मनाइरहेको छ । नेकपाका नेता कार्यकर्ताहरु एक हप्तादेखि जनताको बीचमा विविध कार्यक्रम गरिरहेका छन् । ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप गरेको नेकपाले ७ गते देशव्यापी प्रदर्शन र जनसभा तथा कोणसभा गरेको थियो ।
पार्टीका सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्य भरत बम, माइला लामासहित सयौं नेता-कार्यकर्ताहरु जेल-हिरासतमा छन् ।