काठमाडौं । नेपाल पत्रकार महासंघले छठ पर्व सकिएलगत्तै दोस्रो चरणको आन्दोलन घोषणाको तयारी थालेको छ । विहीबार महासंघले तीन ठूला सञ्चारगृहहरुमा थालिने आन्दोलनबारे विभिन्न संघसंगठनहरुसँग राय सुझाव लिएको छ ।
आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनहरुले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि महासंघले सम्बद्ध सञ्चारगृहका सञ्चालकको घर घेराउ, सञ्चारगृहमा तालाबन्दीदेखि श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनका लागि सरकारी निकायलाई समेत चर्को दवाब दिनुपर्ने सुझाव दिएकाे बैठकमा सहभागी पत्रकार महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजक जन्मदेव जैसीले जानकारी दिए ।
महासंघले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स-सम्मान पुर्नवहाली, यसबीचको तलब-भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा-सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन आन्दोलन गर्दै आएको छ ।
नेपाल पत्रका महासंघमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई बार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नु परेको जानकारी दिँदै छठ पर्वलगत्तै तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन गरिने जानकारी दिए ।
प्रेस संगठनका संयोजक महेश्वर दाहालले सञ्चारगृहका सञ्चालकहरुले एक दिनको घाटालाई हेरेर पत्रकारको पारिश्रमिक रोक्न नहुने भन्दै श्रमिकले विगतको नाफा खोज्ने बेला आएको बताए।
महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारको पेशागत सुरक्षाका सवालमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्दा पत्रकारहरु आन्दोलित बन्नु परेको बताए । महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालले श्रमजीवी पत्रकारका माग पूरा नगर्ने ठूला सञ्चारगृहका सञ्चालकहरुको घर घेराउ गर्न संगठनहरुले दिएको सुझाव कार्यान्वयन गरिने बताए। महासंघका सचिव लक्ष्मी पुन र शितल महतोले महासंघको आगामी आन्दोलनका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा प्रेस नेपालका अध्यक्ष केशवराज अर्याल, क्रान्तिकारी पत्रकार महासंघका सचिव रनसुर महतारा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रगतिशील पत्रकार संघका निवर्तामान अध्यक्ष नारायण शर्मा, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले महासंघको आन्दोलनमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
केन्द्रीय सदस्य समेत रहेका जन्मदेव जैसीका अनुसार छठ पर्वलगत्तै संघसंगठनका सुझावका आधारमा सशक्त आन्दोलन अघि बढाउन महासंघले आन्तरिक तयारी गरिरहेकाे छ ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          






