 
	
सुर्खेत । हुम्लामा शैक्षिक संस्था संचालन भएसँगै विद्यार्थीमा कोरोना भाइरस संक्रमणको उच्चा जोखिम बढेसँगै पुनः सबै शैक्षिक संस्था बन्द गरिएका छन् । एउटै विद्यालयका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संचलान भएको केही दिनमै विद्यालयहरु पुनः बन्द भएका हुन् ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो । यो गाउँपालिकामा पाँच दिनमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय समितिले गरेको हो ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीका अनुसार बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने र अन्तरपालिका आवतजावतमा समेत कडाइ गर्ने पनि निर्णय भएको छ । त्यस्तै, हवाई यात्रुहरुको ज्वरो मापनका लागि सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित बनाउने र कसैले कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट ल्याएको पुष्टि भएमा संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने निर्णय समेत समितिले गरेको छ ।
त्यसैगरी कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउनका लागि हेलिकप्टरको व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरिने प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।
जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गर्ने, १० शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था सिमकोटस्थित रानीवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर बनाउने तथा प्रत्येक गाउँपालिकामा पाँच शय्या क्षमताको आइसोलेसन र १५ शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय पनि गरेको गिरीले बताएका छन् ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          




