आज :

आजबाट छठः किनमेल सुरु, घरमै मनाउन सरकारको आग्रह

काठमाडौं । आज छठ पर्वको पहिलो दिन । आज ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्छन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिनसम्म छठ पर्व मनाइन्छ ।

सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई  मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । यद्यपि ब्रतालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको शुरु गरिसकेका छन् ।

त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् ।

पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । यद्यपि यसपालि कोभिड–१९ संक्रमणको जोखिमले धेरैजसो ब्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् ।

पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

पर्व सम्पन्न भएसँगै ब्रतालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ । मिथिलामा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १०/१५ दिनसम्म चलिरहन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख हुने र रोगव्याध नलाग्ने जनविश्वास छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ ।

मुख्यगरी दुई नम्बर प्रदेशमा छठ मनाउने गरिन्छ । यसैबीच प्रदेश सरकारले कोरोना महामारी फैलिन सक्ने भन्दै विगतजस्तो भिडभाड नगर्न र घरमै बसेर छठ मनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal