काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको विवाद समाधान हुने कुनै छाट देखिएको छैन । दुबै अध्यक्षबीच विहीबार बालुवाटरमा भएको छलफलमा पनि कुनै सहमित नभएपछि विवाद झनै बढ्ने नेताहरुले बताएका छन् ।
विहीबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष बालुवाटार पुगेका थिए । ओली र प्रचण्डबीच विहीबारको छलफलबाट कुनै सहमित हुने नेताहरुले अपेक्षा गरेका थिए तर दुबै अध्यक्ष आआफ्नै अडानमा रहे ।
स्रोताका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा देखा परेको विवाद बैठकबाटै हल गर्नुपर्ने भन्दै सचिवालय र स्थायी समिति बैठक बोलाउन प्रस्ताव राखेका थिए । तर ओलीले तत्काल बैठक बस्नुको औचित्य नभएको बताएपछि छलफल सकारात्मक बन्न सकेन ।
”अध्यक्ष कमरेडले पार्टीभित्र देखिएका समस्या हल गर्न पार्टीको सचिवालय र स्थायी समिति बैठकबाटै समाधान खोजौं भन्नुभयो तर ओली कमरेडले अस्वीकार गर्नभयो । उहाँले बैठकबाट समाधान खोज्ने भन्दापनि विवादलाई बढाउन चाहेको देखिएको छ, प्रदेश नं. १ कार्यकर्तालाई दिएको निर्देशनले त्यही भन्छ” प्रचण्ड निकट एक नेताले भने ।
ती नेताका अनुसार अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद समाधान गर्न ओली तयार नभएको बताएका छन् । अब गम्भीर छलफल नगर्ने भए आफू बालुवाटार नजाने प्रचण्डले बताएका छन् । विहीबार बालुवाटारबाट फर्केपछि आफू निकट केही नेताहरुसँगको छलफलमा प्रचण्डले सो कुरा बताएका हुन् ।
सरकारका पछिल्ला निर्णय र भेटले गर्दा प्रचण्ड-नेता माधव कुमार नेपाल समूह र ओलीबीचको दूर बढेको छ । अझ १ नम्बर प्रदेशका नेताहरुलाई ‘जुम’ भेलामा ओलीले ‘जबज’लाई अघि बढाउन दिएको निर्देशन दिएपछि त झन प्रचण्ड-नेपाल झस्किएका छन् ।