आज :

सरकारविरुद्ध विप्लव आक्रामकः दशैं लगत्तै देशव्यापी संघर्षको घोषणा, कोरोनाको निःशूल्क उपचार गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै दशैं कोरोना महामारीको समयमा जनताको स्वास्थ्य सुरक्षाविरुद्ध जाने, भ्रष्टाचार गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बनाएको भन्दै सरकारविरुद्ध देशव्यापी सङ्घर्ष घोषणा गरिएको विज्ञप्तिमा जनाइएको छ ।

विप्लवले विज्ञप्तिमा कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिएकाले सङ्घर्ष गर्नुपरेको प्रस्ट पार्दै त्यसमा साथ दिन सम्बन्धित सम्पूर्ण पक्षलाई आह्वान पनि गरेका छन् ।

“राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ” विज्ञप्तिमा भनिएको छ ।

वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झनपछि झन् उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको बताउँदै विप्लवले सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेको बताएका छन् ।

विप्लवले कोरोना परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत सरकार पन्छिएको भन्दै निःशूल्क उपचारको माग समेत गरेका छन् । “कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी महासचिव विप्लवले विभिन्न कठिनाइ झेल्दै कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न समेत विप्लवले माग गरेका छन् ।

राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको भन्दै राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउन समेत विज्ञप्तिमा चेतावनी दिइएको छ । पार्टीले घोषणा गरेका संघर्षका कार्यक्रमा सहभागीता र सहयोगको लागि विप्लवले अपील समेत गरेका छन् ।
विप्लवले घोषणा गरेका कार्यक्रमअनुसार कात्तिक १५ गते कोणसभा, कात्तिक १७ गते पर्चा वितरण र कात्तिक २० गते विरोध जुलुस रहेका छन् ।
त्यसैगरी नेकपाले सङ्घर्षका लागि नयाँ नारा पनि सार्वजनिक गरेको छ । जसअनुसार आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal