
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीले बाढी-पहिरो पीडितलाई आर्थिक र प्राविधिक सहयोग गरेको छ । विप्लव नेतृत्वको नेकपा कालिकोटले पीडितलाई वर्गिकरण गरेर ब्यूरोले पठाएको आर्थिक र जिल्लाको भौतिक तथा प्राविधिक सहयोग गरेको हो ।
जिल्लाको सिप्खानाको कोलिगाउँ स्कुलमा ३८ जना पीडितलाई राहत वितरण गरेको नेकपा कालिकोटले जनाएको छ । नेकपाले पहिरोमा परी ज्यान गुमाउने परिवारलाई पहिलो श्रेणी, घाइते र घर पूर्णरुपमा क्षतिलाई दोस्रो श्रेणीमा राखेर राहत वितरण गरिएको हो ।
नेकपा कालिकोटले दिएको जानकारीअनुसार मसिना चामलसहित राहत वितरण गरिएको छ । राहत वितरण गर्दै नेकपाका नेता बिराटले स्थानीय सरकारले आफ्ना नातागोता र कार्यकर्तालाई मात्रै राहत वितरण गरेको बताए ।
नेकपाका जिल्ला सेक्रेटरी रणदीपले जिल्लाका पहिरो पीडितले दशैं मनाउन सहयोग बनोस् भनेर राहत वितरण गरेको बताए । राहत वितरण कार्यक्रममा जिल्ला सल्लाहाकार समितीका संयोजक समग्र र युवा संगठन नेपालका अध्यक्ष गोबिन्द्र बुढालगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यसैगरी जिल्लाको पचाल झरना गाउँपालिकामा पनि राहत वितरण गरेको छ । जिल्ला सेक्रेटरी रणदीपले प्राथमिकतामा आधारमा पहिलो चरणमा २० जना र नरहरीनाथ लालु माल्कोट रुप्सामा पहिरो पीडितलाई पनि राहत वितरण गरिएको छ । प्राथमिकताका आधारमा ३२ जनालाई राहत वितरण गरेको नेकपाले जनाएको छ ।