
भोजपुर । जिल्लामा एक जनप्रतिनिधिको निधन भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन हो । हतुवागढी -४ फलामढुङगाकी ४७ वर्षीया राईको शुक्रबार राति ३ बजे निधन भएको गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राइले बताएका छन् ।
भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारको क्रममा राईलाई जन्डिस र रक्तचापको समस्या देखिएको थियो । उपाध्यक्ष राईको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको थियो ।
उपचारको क्रममा उपाध्यक्ष राईको उपचारका क्रममा शुक्रबार राति ३ बजे चिकित्सकले मृत घोषणा गरेको गाउँपालिकाका राइले जानकारी दिए । उपाध्यक्ष राई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्य ममेत हुन् । उनी जिल्लामा सक्रिय राजनीतिकर्मीको रुपमा चिनिएकी छन् ।
उपाध्यक्ष राईमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ । तर निधनपछि कोरोना परीक्षण नगर्ने सरकारको निर्देशनका कारण उनको परीक्षणबारे अन्यौलता रहेको बताइएको छ ।