
काठमाडौँ । प्रहरी संगठनभित्र विवादित छवि बनाएका महानगरीय प्रहरी वृत मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) अमरबहादुर कुँवर अनुसन्धानमा तानिएका छन् । अनलाइन डबलीले केही सयम पहिले कुँवरले शक्तिको दुरुपयोग गर्दै संगठनको हितविरुद्ध र अनैतिक कार्य गरिरहेको समाचार प्रकाशित गरेको थियो ।
कुँवरलाई जोडिएर समाचार आएपछि प्रहरीले प्रधान कार्यालयले छानविन समिति बनाएर छानविन प्रक्रिया अगाडि बढाएको थियो । छानविनमै रहेका सई कुँवरलाई मालिगाउँबाट प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । सइ कुँवरले तल्लो तहका प्रहरी कर्मचारीसँग जोडिएका कामहरुबाट कमिसन खाने, दादागिरीदेखि कार्यालयमै रक्सी सेवन र युवती ल्याउने गरेको अनलाइन डबलीले पहिलो पटक खुलासा गरेको थियो ।
प्रहरी स्रोतका अनुसार सई कुँवर अनुसन्धानको क्रममा दिउँसै कार्यालयमा आउने युवती आफ्नी प्रेमीका रहेको स्वीकार गरेका छन् । वृतमा भएको सुधपुछ र अनुसन्धान टोलीले बयन लिने क्रममा कुँवरले ती युवती आफ्नी प्रेमिका भएको स्वीकार गरेका हुन् । त्यसैगरी कुँवरले सरुवा र बढुवा भई अन्य कार्यालय जाने प्रहरी कर्मचारीहरुबाट रकम असुल गर्ने गरेका थिए ।
यसअघि २०७५ भदौतिर कुँवरविरुद्ध महानगरिय प्रहरी कार्यालय रानिपोखरी, परिसर टेकुमा पीडित कर्मचारीले उजुरी पनि दिएका थिए । त्यसपछि रानिपोखरीले कुँवरलाई कारवाही गरी नजिता पठाउन तत्कालिन कमलपोखरी वृतलाई आदेश दिएको थियो । त्यतिबेलका वृत प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) कुलदेव चन्दले कारवाही गर्नुको साटो बचाउ गरेका थिए । महानगरी प्रहरी कार्यालय रानिपोखरीको आदेशअनुसार कुँवरलाई कारवाही नभएपछि झन् मनोवल बढेको थियो । अन्य कर्मचारीका अनुसार त्यसपछि कुँवरको दादागिरीले सीमा नाघेको थियो ।
कुँवरले २०७७ साउन ३१ गते दिउँसो १ बजेतिर एउटा युवतीलाई आफ्नो कोठामा ल्याएका थिए । कार्यालयमा जडान गरिएको सीसी टिभी फुटेजमा उक्त दृश्य कैद भएको छ । कुँवर र युवतीले कार्यालयभित्रै उनको गोप्य कोठामा ५–६ घण्टा सँगै बिताएका थिए । त्योभन्दा पहिले पनि सई कुँवरले कार्यालयभित्र युवतीलाई ल्याएको अन्य कर्मचारीले थाहा पाएपछि हंगामा मच्चिएको थियो । तर, त्यतिबेल आफ्नी श्रीमती भन्ने जवाफ दिएका थिए । तर अहिले छानविन समितिलाई प्रेमिका भएको वयान दिएका छन् । दुई पटक आउने एउटै युवती भएको अन्य कर्मचारीले बताएका छन् । सई कुँवरले कार्यालयका सामानामा पनि आँखा लगाउने गरेका थिए । कमलपोखरीबाट वृत मालिगाउँ स्थान्त्रण हुँदा नयाँ कार्यालयको लागि भनेर खरिद गरिएका ५–६ स्टील र फलामका कुर्सीबीच बाटोबाटै ट्याक्सीमा राखेर आफ्नो कोठामा लगेका थिए ।
सई कुँवरमा अनुसन्धानको लागि हेडक्वाटर तानिएसँगै सास्ती भोग्दै आएका अन्य प्रहरी कर्मचारीहरु खुशी भएका छन् । तर घरमा परिवार सास्तीबाट मुक्त हुन्छन् वा हुँदैनन् ?