
धनगढी । गृहमन्त्री बादलसहित मन्त्री र जनप्रतिनिधिहरुको टोलीले बाढीले क्षतविक्षत भएको अछामको रामारोशन गाउँपालिका-५ सैनी बजार क्षेत्रको निरिक्षण गरेको छ । गृहमन्त्री बादल, उद्योग तथा आपूर्तीमन्त्री लेखराज भट्टसहित (नेकपा)का स्थायी समिति सदस्य भीम रावलसहितको टोली शुक्रबार हेलिकोप्टरबाट रामारोशन पुगेको थियो ।
उक्त टोलीले कैलाश खोलामा आएको बाढीले २२ घर बगाएको सैनीबजार क्षेत्रको निरिक्षण गरेको थियो । बाढीले १७ जना बगाएको थियो । ६ जनाको शव फेला परेपनि अन्य अझैं वे पत्ता छन् ।
सैनीबजारमा स्थानीयलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले पीडितलाई राहत, पुर्नस्थापना र पुर्ननिर्माणमा सरकारले गर्ने बताए । उनले अछामसहित देशभर बाढी पहिरोले ठूलो जनधनको क्षति भएको बताउँदै सहयोगका लागि मन्त्रिमण्डलमा छलफल गरेर आवश्यक निर्णय भईसकेको जानकारी समेत गराए । मृतक र हराएका व्यक्तिको परिवारलाई संघ र प्रदेशबाट राहत रकम उपलब्ध हुने भन्दै बगेका घर सरकारले नै पुर्ननिर्माण गरिदिने गृहमन्त्री बादलले प्रतिबद्धता जनाएका थिए ।
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बाढीपीडित परिवार राहत र पुर्नस्थापनालाई पहिलो आवश्यकता भएको भन्दै सरकार त्यसमा केन्द्रीत भएको बताए । उनले पीडितको राहतको लागि पहल गरेको बताए ।
टोलीले मृतकका आफन्तलाई किरिया खर्चस्वरुप एकएक लाख रुपैयाँको साथै राहत सामाग्री पनि हस्तान्त्रण गरेको थियो । टोलीमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य भीम रावल,राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर र तारामान स्वार, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, प्रहरी प्रमुख डिएसपि योगेन्द्र सिह थापा, खप्तड गुल्म साफेबगरका प्रमुख, दुर्गाबक्स गणका गणपति लोचन कार्कीलगायत सहभागी थिए ।
स्थानीय सरकारले पुर्नस्थापना, सडक, पुल, सञ्चारलगायतका सेवा सुचारुको लागि पहल गर्न आग्रह गरेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । उनले सैनी, सनानीगाँउ, धनेसल्ला, शोडना क्षेत्रका १ सय बढी घरपरिवार बाढीबाट प्रभावित भएको भन्दै राहतको तथा पुर्नस्थाना गर्नुपर्ने बताइन् ।
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री भट्टको पहलमा कैलालीमा जम्मा भएको राहत सामाग्री रामारोशन पुग्न लागेको बताइएको छ ।