काटमाडाैं । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा नलाग्न डोटीबाट निर्वाचित सांसदहरुलाई चेतावनी दिएको छ । नेकपा डोटीका इन्चार्ज तर्कराज र सेक्रेटरी कालु पाण्डेले एक बिज्ञप्ति जारी गर्दै सांसदहरुलाई एमसीसीको पक्षमा नलाग्न मुख्यमन्त्रीसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई चेतावनी दिएका छन् ।
नकेपाले बुधबार विज्ञप्ति जारी गरेर सरकार र केही भ्रष्ट नेताहरु न्वारानदेखिकै बल लगाएर राष्ट्रघाती एमसीसी पास गर्न लागिपरेको भन्दै नेकपा डोटीले जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम आले र प्रदेशसभा सदस्यहरु त्रिलोचन भट्ट, भरत खड्का र पुर्णा जाेशीलाई एमसीसीको पक्षमा नउभिन चेतावनी दिएको हो ।
”केही भ्रष्ट नेता र केपी ओली नेतृत्वको सरकार न्वारान देखिकै बल लगाएर एमसीसी पास गर्न लागिरहेका छन् । सदनमा एमसीसीका बिरुद्ध लाग्न डोटीका प्रतिनिधिसभा सदस्य प्रेम आले, प्रदेश सांसदहरू त्रिलोचन भट्ट, भरत खड्का र दुर्गा जोशीलगायतका संसदहरुलाई कुनैपनि हालतमा राष्ट्रघाती सम्झौता सदनबाट पास गर्न नदिन अनुरोद गर्दछौं” बिज्ञप्तिमा भनिएको छ ।
राष्ट्रघाती सम्झौता पास गर्ने पक्षमा लाग्ने दुबै सदनका सांसदहरुले डोटी जिल्ला प्रवेश गर्न नपाउने नेकपाले जनाएको छ । राष्ट्रघाती एमसीसी सम्झौताको पक्षमा लागेर जिल्ला प्रवेश गरे त्यसबाट उत्पन्न जुनसुकै परिस्थितिको जिम्मा स्वयम् सांसदहरुले लिनुपर्ने नेकपाले चेतावनी दिएको छ ।
बिज्ञप्तिमा भनिएको छ, ”यदी राष्ट्रघाती सम्झौता पास गर्नेतिर तपाईं दुबै सदनका सांसदहरु लाग्नुभयो भने तपाईं संसद पनि राष्ट्रघाती हौ भन्ने कुरा घामजस्तै छर्लङ्ग देखिने छ, भने डोटी जिल्ला प्रवेशमा तपाईहरुलाई रोक लगाइएको छ। जिल्ला प्रवेश गर्दा भइपरि आउने समस्याको जिम्मेवार तपाईं आफै हुनुपर्ने छ।”
राष्ट्रघात, भ्रष्ट्रचार,कमिसन, करछली र महङ्गीका बिरुद्ध आफ्नो पार्टी निरन्तर लडिरहेको भन्दै नेकपाले कोरना भाईरस (कोबिड-१९) माहामारीबिरुद्ध सिङ्गो मानव समुदाय एक भएको अवस्थामा पनि सरकारले आफ्नो पार्टी नेता कार्यकर्ताहरुलाई राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गरेर झुट्टा मुद्दा लगाएकोमा पनि नेकपाले आपत्ति जनाएको छ ।
सामान्य मानवीय समवेदनालाई समेत ख्यान नगरी सुराकीको आधारमा राति सुतिरहेको अबस्थामा पार्टीका नेता, कार्यकर्ता र जनताको घरमा खानतलासी गर्ने, छापा मार्ने, धम्काउने र त्रसित पार्ने कार्य प्रहरी प्रशासनबाट भइरहेको भन्दै त्यस्तो अमानवीय कार्य रोक्न नेकपाले माग पनि गरेको छ ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          







