
धनगढी । नेपाल कम्युनिस्ट पार्टी बाजुराले प्रतिनिधि सभा सदस्य लालबहादुर थापालाई एमसीसीको पक्षमा नलाग्न आग्रह गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाजुरा इन्चार्ज सन्देशले शुक्रबार एक विज्ञप्ति जारी गरेर संघीय सांसद थापालाई एमसीसीको विपक्षमा लाग्न आग्रह समेत गरेका छन् ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता रााष्ट्रघाती भएको बताउँदै नेकपलो त्यसको विपक्षमा उभिन आग्रह गरेको हो । एमसीसीमार्फत अमेरिकाले नेपाललाई सैन्य परेड बनाउँदै प्राकृतिक साधन र स्रोत कब्जा गर्न लागेको भन्दै नेकपाले सम्झौता खारेज गर्नुपर्ने बताएको छ ।
इन्चार्ज सन्देशले एमसीसी सम्झौताविरुद्ध आफ्नो पार्टी आन्दोलन गर्दै आएको बताउँदै विज्ञप्तिमा भनेका छन्, “राष्ट्रघाती एमसीसी सम्झौता खारेजकी माग गर्दै हाम्रो पार्टी आन्दोलन गर्दै आएको कुरा अवगत नै छ । हाम्रो (बाजुरा) जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापालाई सम्झौताको बिरुद्धमा लाग्न अनुरोध गर्दछौं । यदि आग्रहलाई बेवास्ता गरी सम्झौताको पक्षमा लाग्ने वा समर्थन गरेमा जिल्ला प्रवेशमा रोक लगाइने जानकारी यसै बिज्ञप्तिमार्फत गराउद छौं ।”
देशमा लकडाउन जारी रहेकै अवस्थामा सरकारले कर तिर्न ताकेता गरेको भन्दै नेकपा बाजुराले आपत्ति जनाएको छ । कोरोना संकटमा जनतालाई सुरक्षित राख्न छोडेर जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको भन्दै त्यसको हिसाबकिताब हुने चेताविनी पनि विज्ञप्तिमा दिइएको छ ।
विहीबार मात्रै नेकपाको सेती महाकाली ब्यूरोले एमसीसीको पक्षमा लाग्ने सांसदलाई कारवाही गर्ने चेतावनी दिँदै लिष्ट तयार पार्न निर्देशन दिएको थियो । उक्त निर्देशको चौबिस घण्टा बित्न नपाउँदै नेकपा बाजुराले सांसद थापालाई एमसीसीको पक्षमा नलाग्न चेतावनी दिएको हो । थापा तत्कालिन नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।